धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मिर्गाैला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो । डायलसिस प्रक्रियामा प्रयोग हुुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन थपिएपछि सेवा विस्तार गरिएको हो । आरोपानी पर्याप्त मात्रमा उत्पादन हुँदा डायलासिस सेवालाई तीन चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको धौलागिरि अस्पतालका नर्सिङ अधिकृत तथा सूचना अधिकारी अञ्जना पौडेलले जानकारी दिनुभयो । आरोपानीको अभाव हुँदा विगतमा दैनिक दुई चरणमा मात्रै डायलासिस हुँदै आएको थियो । गत मङ्सिरदेखि दैनिक तीन चरणमा डायलासिस सेवा प्रदान गरिएको छ । आरोपानी दुई सय ५० लिटर प्रतिघण्टा उत्पादन हुँदा दुई चरण थियो । अहिले आरोपानी प्रतिघण्टा एक हजार लिटर उत्पादन हुन्छ । डायलासिस मेसिन थप गर्न सके थप बिरामीको पनि उपचार गर्न सकिने सूचना अधिकृत पौडेलको भनाइ छ । हाल अस्पतालमा ४४ जना मिर्गाैलाका बिरामीले नियमित निःशुल्क रुपमा डायलासिस सेवा लिँदै आएका छन् । तीबाहेक पाँचजनाले उपचारका लागि पालो गर्नुपर्ने अवस्था छ । यद्यपि पालो कुर्नुपर्ने बिरामी जटिल प्रकृतिका छैनन् । उनीहरुले हप्ता वा पन्ध्र दिनमा एक पटक मात्रै डायलासिस गर्दै आएका छन् । नियमित सेवाका सूचीमा रहेका बिरामीमध्ये तीनजनाले हप्ताको तीन पटक अन्यले हप्ताको दुई पटक डायलासिस गराउँछन् । छ मेसिनबाट दैनिक डायलासिस गर्दै आएको सूचना अधिकृत पौडेलको भनाइ छ । एउटा मेसिनले बेलाबेलामा काम गर्दैन । पाँचवटा मेसिन नियमित सञ्चालनमा छन् ।रासस