बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन रु तीस हजारमा घरबाटै बिक्री भएपछि उत्साहित भएका छन् । यहाँका अधिकांश स्थानीयले चिराइतोको व्यावसायिकरूपमा खेती गर्दै आएका छन् । गत वर्षदेखि मूल्यमा वृद्धि भएपछि खेतीप्रति आकर्षण बढेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बताउनुभयो । विगतमा निराशा थपिएको भए पनि मूल्य बढ्न थालेपछि चिराइतो कृषक उत्साहित भएको राउतको भनाइ छ । “चिराइतोको मूल्यमा वृद्धि भएपछि उत्साह थपिएको छ”, उहाँले भन्नुभयो, “विगतको मूल्य हेर्दा निराशा थियो । प्रतिमन रु सात–आठ हजारमा पनि बेचियो । यस वर्ष घरबाटै प्रतिमन रु ३० हजारका दरले बिक्री भयो ।” बीस रोपानी क्षेत्रमा खेती गरेको ठाउँमा आफूले १० मन उत्पादन गरेको उहाँको भनाइ छ । बजारमा त्यो भन्दा राम्रो मूल्य भए पनि किसानले भने सोचेजस्तो मूल्य अझै नपाएको उहाँको भनाइ छ । किसानले तलका व्यापारीले लगाउने मूल्य थाहा नपाउने हँुदा बिचौलियाले ठग्ने गरेको उहाँको भनाइ छ । “किसानलाई वास्तविक मूल्य थाहा पाउन कठिन छ”, उहाँले भन्नुभयो, “बिचौलियाको भरमा हामीले बिक्री गर्नुपर्ने अवस्था छ । झापाको विर्तामोड पाउने मूल्यको हामीलाई जानकारी हुँदैन । यहाँका ठेकेदारले भनेको आधारमा बिक्री गर्नुपर्छ । सरकारले मूल्य निर्धारण तथा बजारीकरणमा भूमिका खेलिदिए वास्तविक किसानलाई राहत पुग्ने थियो ।रासस