न्युजिल्याण्डका नयाँ प्रधानमन्त्रीले आफ्ना पूर्ववर्ती अधिकारी जसिन्डा आर्डनले झै प्रशंसक र समर्थको भीड एकत्र गर्न नसके पनि उहाँ राजनीतिक समझ, पहिरनमा कमजोर चेत र ‘डायट कोक’का निम्ति आफ्नो देशका जनतामाझ सुपरिचित हुनुहुन्छ । चवालीस वर्षीय क्रिस हिप्किन्सले बुधबार बिहान २० वर्षदेखिको आफ्नो साथी आर्डनलाई प्रतिस्थापन गर्दै प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभयो । राष्ट्रको कार्यकारी प्रमुखको उत्तरदायित्व औपचारिकरूपमा बहन गरेसँगै उहाँले आफूमाथि सबैभन्दा ठूलो दायित्व आएको बताउनुभयो । भावी चुनौती सामना गर्न आफू उत्साहित र आल्हादित भएको पनि उहाँले बताउनुभयो । स्पष्टवक्ता हिप्किन्स कोभिड–१९ नियन्त्रणका शिल्पकार सहृदयी राजनीतिज्ञका रूपमा परिचित हुनुहुन्छ । देशको सर्वोच्च पदमा पुग्न लागेको खबर सार्वजनिक हुँदा गत हप्ता उहाँले पत्रकारहरूलाई आफूसँग देशवासी परिचित रहेका तथा उनीहरूका कमजोरीप्रति ममता र हाँस्नसक्ने आफ्नो स्वभाव भएको बताउनुभएको थियो । विद्यार्थी राजनीतिदेखि नै उहाँ जनतामाझ प्रिय हुुनुहुन्थ्यो । सन् १९९० मा विश्वविद्यालयको प्रस्तावित सुधारका कार्यक्रमप्रति असहमति जनाउँदै त्यसको विरोध गर्दा उहाँ पक्राउ पर्नुभएको थियो । राजनीतिक टिप्पणीकर्ता जोसे पगानी १४ वर्ष सत्ता र प्रतिपक्षमा बसेका हिप्किन्सलाई ‘व्यावहारिक, आकर्षक, कठोर एवम् सक्षम’ मान्नुहुन्छ । लेबर पार्टीको घट्दो लोकप्रियताका बीच बढ्दो मन्दी तथा पुनः आक्रामक बन्नसक्ने कन्जरभेटिभ विपक्षीलाई व्यवस्थापन गर्नुपर्ने गहन दायित्वमा पुग्नुभएको छ । प्रधानमन्त्री हिप्किन्सले करिब दुई वर्ष कोभिड नियन्त्रणका निम्ति मन्त्रीका रूपमा निर्वाह गर्नुभएको भूमिकाको सर्वत्र प्रशंसा भएको थियो ।रासस