बडिगाड गाउँपालिकाले विमान दुर्घटनामा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई आर्थिक सहयोग गरेको छ । यही माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकी बडिगाड गाउँपालिका–३ सिसाखानीको छन्त्यालको परिवारलाई गाउँपालिकाले राहत स्वरुप रू ५० हजार उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाले लोक तथा दोहोरी गायिका छन्त्यालको परिवारलाई घरमै पुगेर सहयोग उपलब्ध गराएको थियो । यो राहत उहाँको परिवारको घाउमा मलहम लगाउने प्रयास भएको उहाँको भनाइ छ । “हामीले एक जना राष्ट्रको गहना गुमाएका छौँ, यसबाट सिङ्गो राज्य स्तब्ध भएको अवस्था छ”, उहाँले भन्नुभयो, “यस घडीमा उहाँको परिवारलाई सहयोगको आवश्यक छ ।” उहाँले छन्त्यालको परिवारलाई आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।रासस