राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सदस्यहरुले शहीद सप्ताह र विमानस्थलमा भएको हिजोको घटनाले सुशासनका लागि दिएको चुनौतीलगायत विषयमा सदनमार्फत् सरकारले ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा इन्दिरादेवी गौतमले बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती रहेकाले नागरिकको स्वाथ्यमा पर्न सक्ने गम्भीर असरलाई ध्यानमा राखी अनुगमनलाई चुस्त तुल्याउँदै त्यसलाई रोक्न माग गर्नुभयो । अर्का सदस्य गङ्गाकुमारी बेल्वासेले पछिल्लो समय महिला र बालबालिकामाथि भएका आक्रमणका घटनाले सुरक्षा जोखिम देखिएकाले सामाजिक सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।रासस