शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाली युवालाई स्वदेशमै नयाँ प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित काममा संलग्न गराउनुपर्ने बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले आज आयोजना गरेको ‘राष्ट्रिय नवप्रवर्तन सम्मेलन’मा उहाँले भन्नुभयो, “हरेक दिन रोजगार तथा अध्ययनका लागि हाम्रो देशबाट युवा विदेशिने क्रम जारी छ । यो अवस्थालाई रोक्न योग्य, सक्षम युवालाई नेपालमै बसेर नयाँ प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित काममा संलग्न हुने वातावरण तयार गर्नुपर्छ ।”, मन्त्री खनालले अबको भविष्य प्रविधिमा नै भएकाले यो क्षेत्रमा नेपालले धेरै काम गर्नुपर्ने बताउनुभयो । विश्वले प्रविधिमा धेरै ठूलो फड्को मारिरहँदा नेपालमा अझै पनि कूल जनसङ्ख्यामध्ये ३८ प्रतिशतमा मात्र पूर्णरुपमा इन्टरनेटको पहुँच पुगेको तथ्य प्रस्तुत गर्नुहुँदै मन्त्री खनालले देशको वास्तविकता बुझेर सोहीअनुरुप काम गर्नुपर्ने औँल्याउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले अनुसन्धान तथा विकासको क्षेत्रमा सरकारले आवश्यक बजेट खर्च गर्न नसकेको बताउनुभयो । “विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक अध्ययन÷अनुसन्धानका लागि पर्याप्त बजेट खर्च हुन सकेको छैन । सङ्घीय सरकारले रिसर्च तथा डेभलपमेन्टका लागि छुट्याइएको बजेट निकै नै कम छ ।” डा फुँयालले भन्नुभयो, “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जाने बजेटबाट नै अनुसन्धान तथा विकासको लागि बजेट जान्छ तर मन्त्रालयमा जाने बजेट नै थोरै हुँदा अनुसन्धानको क्षेत्रमा बजेट जान सकेको छैन ।रासस