अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रू ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन रू २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् । धान, तथा मकै बाली हटाएर व्यावसायिक रुपमा अलैँची खेती गरिरहेका किसानले मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् । गत वर्षको तुलनामा यस वर्ष ४० प्रतिशतको हारहारीमा मूल्य गिरावट आएको भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ चोलन्तीका अलैँची कृषक चक्रबहादुर विष्टले जानकारी दिनुभयो । यस वर्ष चोलन्ती गाउँमा रहेको करिब छ सय मन अलैँची प्रतिमन रू २४ हजारका दरले मात्र बिक्री भएको उहाँले बताउनुभयो । “यस वर्षमा अलैँचीले सोचे जस्तो मूल्य पाएन”, विष्टले भन्नुभयो । अलैँचीको मूल्य घटेपछि अन्य बाली हटाएर व्यावसायिक रुपमा अलैँचीको खेतीमा लागेका किसानहरु मारमा परेको उहाँको भनाइ छ । विगतमा राम्रो मूल्य पाएपछि किसानहरुले हौसिएर अलैँची खेती गरेको भए पनि अहिले निराशा छाएको विष्टले बताउनुभयो ।रासस