कृषिनगर पाँचखालमा मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्रामको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआिर) तयार भएको छ । नगरको वडा नं ७ स्थित करिब पाँच हेक्टर (९८ रोपनी) जमिनमा भौतिक पूर्वाधार निर्माणका लागि जमिन सम्याउने काम सम्पन्न भए पनि नगरले जनाएको छ । प्रथम महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापनाका लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घ नेपालबीच २०७६ भदौमा त्रिपक्षीय सम्झौता भई प्रक्रिया अघि बढाइएको थियो । प्रारम्भिक चरणमा औद्योगिक ग्रामका लागि सडक स्तरोन्नति, खानेपानी ट्याङ्की निर्माण तथा डिपीआर तयार गर्न रू ६० लाख विनियोजन गरिएको थियो । बाग्मती प्रदेशका सङ्घीय अनुदानप्राप्त स्थानीय तहमा औद्योगिकग्राम निर्माण कार्यक्रमअन्तर्गत चार जिल्लाका छ वटा स्थानीय तहमा आर्थिक वर्ष २०७६÷७७ मा नेपाल सरकारले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो ।रासस