चौबिसे गाउँपालिकाको बोधे गाउँवासीका लागि अब बर्खाको पानी जम्मा गनुपर्ने बाध्यता हट्ने भएको छ । यहाँका बासिन्दाका लागि लिफ्टिङ खानेपानी आयोजना निर्माण सुरु भएको आठ वर्षमा पूरा भएपछि सो गाउँका चार सय ११ घरधुरीलाई राहत पुग्ने भएको छ । पालिकाको वडा नं ५ का लागि २०७१ सालबाट सुरु भएको क्रमागत बोधे लिफ्टिङ खानेपानी आयोजना पूरा भएर परीक्षण वितरण सुरु गरिएको छ । सङ्घ तथा प्रदेश सरकारको दुई करोड ३० लाख २९ हजारको लागतमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाअन्तर्गत सञ्चालित आयोजनाको गएको साउनबाट परीक्षण सुरु गरिएको हो । खानेपानीको चरम अभाव भएको उक्त क्षेत्रमा बर्खामा सङ्कलित पानी सकिएपछि गाउँवासीले प्रतिलिटर रू दुईका दरले खानेपानी किनेर खाँदै आएका थिए । पानी किन्न नसक्नेहरुका लागि घण्टौँ लगाएर विभिन्न स्थानका धारा तथा कुवाबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो ।रासस