सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिनुभएको छ । आज प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिनुभयो । प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा सञ्चालन गर्दै आएको छ । मन्त्री शर्माले सञ्चार मन्त्रालयले आमसञ्चारसँग जोडिएका विषयसँग सम्बन्धित रहेर काम गर्ने बताउनुभयो । आमसञ्चार क्षेत्रलाई आचारसंहिताको पालनासहित थप जिम्मेवार बनाउन काउन्सिल सक्रियतापूर्वक लाग्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री शर्माले काउन्सिल सङ्ग्रहालयमा आमसञ्चार माध्यमका प्राचीन माध्यमको संरक्षण हुने भएकाले नयाँ पुस्ताका लागि यो अति नै महत्वको काम भएको बताउनुभयो । उहाँले सञ्चारका मुद्दालाई व्यवस्थित बनाउन प्रेस काउन्सिल ऐन समसामयिक बनाउने लगायतबारे सरोकारवालासँग समन्वय हुने बताउनुभयो ।रासस