नेपाली र भारतीय नवपर्वतनमा आधारित व्यवसाय ‘स्टार्टअप इकोसिस्टम’ बीचको जडान (कनेक्ट)लाई बढावा दिन सरोकारवाला निकायका अधिकारीले सुझाव दिएका छन् । भारतीय राजदूतावासले नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘इण्डिया–नेपाल स्टार्टअप कनेक्ट’ विषयक अन्तरक्रियामा उहाँहरुले दुवै देशबीच ‘फिनटेक’ मा थप सहकार्यको आवश्यकता आँैल्याउनुभयो । दुई देशको स्टार्टअप इकोसिस्टमलाई एकै ठाउँमा ल्याउन इण्डिया–नेपाल स्टार्टअप जडानको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल नेपालको विषयका बारेमा प्रष्ट पार्दै सन् २०२३ लाई नेपालको डिजिटल भुक्तानी प्रवद्र्धन वर्षको तयारी गरिएको बताउनुभयो । उहाँले नेपाल र भारतबीच फिनटेकमा थप सहकार्यका लागि आह्वान गर्दै क्रस बोर्डर भुक्तानी र क्युआर भुक्तानीलाई सहयोगका सम्भावित क्षेत्रका रूपमा पहिचान गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल–भारत कूटनीतिक सम्बन्धको ७५ वर्षको सन्दर्भमा आयोजित कार्यक्रम नेपाली र भारतीय स्टार्टअप इकोसिस्टम बीचको जडानलाई बढावा दिनमा केन्द्रित थियो । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले वित्तीय समावेशीकरण र स्टार्टअप सक्षम पार्न जन धन, योजना, आधार र मोबाइल नम्बर जस्ता डिजिटल सार्वजनिक वस्तुको महत्व रहेको उल्लेख गर्नुभयो ।रासस