जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो । बीस लाखभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि पटक–पटक ‘कोटेसन’ गरेर औषधि खरिद गरेको पाइन्छ तर यहाँ पाँच महिनादेखि औषधि अभाव भएको छ । दुई पटक थोरै परिमाणमा औषधि बोलपत्र आह्वान नगरी ल्याइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले बताउनुभयो । “औषधि छिट्टै आउँदैछ, स्वास्थ्य संयोजक काठमाडौँबाट आएपछि बाँड्ने योजना छ,” उहाँले भन्नुभयो । बिरामीलाई स्वास्थ्यकर्मीहरूले औषधि नदिने र सिटामोललगायत अन्य औषधिहरूसमेत निजी मेडिकलबाट किनेर खानोस् भनेर पठाउने गरेको स्थानीय बताउँछन् । जुनीचाँदे–११ का कैलो नेपाली, दमले सताएपछि औषधि लिन स्वास्थ्य चौकी कोर्ताङ्ग जाँदा औषधि विना नै फर्किनुपरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थाका नानीहरूले मेडिकलबाट औषधि किनेर लिनु भनेका थिए, पैसा नभएपछि खाली हात घर फर्किएँ।रासस