कञ्चनपुरमा भीमदत्त नगरपालिकामा मात्रै बसोबास रहेको अल्पसङ्ख्यक सोनाह जातिका नागरिक दशकौँदेखि यहाँ रहँदै आए पनि दैनिकी भने कष्टकर छ । हिउँदमा महाकालीमा गिट्टी कुट्नेदेखि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका भीमदत्त–१२, १३ र १७ मा बसोबास रहेका सोनाह परिवारको आर्थिक अवस्थामा सुधार आउन सकेको छैन । यहाँको भीमदत्त–१७ मा रहेका राम सोनाहले दशकौँदेखि सोनाह जातिको बसोबास रहेको बताउनुभयो । “यहाँ पुर्खादेखि बसोबास रहे पनि ज्याला मजदुरी गरेर बाँच्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “अहिले त गाउँघरमा मजदुरी गरौँ भने पनि काम पाउँदैन ।” एक वर्षअघि आफूसित रहेको आधा कट्ठा जमिन बेचेर बुबाको उपचारमा जुटेका रामले काम नपाउँदासम्म परिवारको खर्च जोहो गर्न समस्या रहेको बताउनुभयो । “रु साढे तीन लाखको जग्गा बेचेर बुबाको उपचार गर्नाका साथै पक्की घरको सोखमा दुईकोठे भवन बनाउन थाले”, उहाँले भन्नुभयो, “रकम अभावले घर अधुरो रहेको वर्षदिन भइसक्यो ।” उहाँले लोपोन्मुख र अल्पसङ्ख्यक समुदायलाई सरकारले विभिन्न अनुदान र कार्यक्रममार्फत घर बनाउने कुरो गरे पनि आफूले केही नपाएको बताउनुभयो ।रासस