समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी गरिएको छ । उपभोक्ता समितिमार्फत गर्ने कार्यमा जिम्मेवारी पूरा नगर्ने समितिलाई कारबाहीका लागि आवश्यक तयारी थालिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाइँले जानकारी दिनुभयो । उहाँका अनुसार योजना निर्माणको जिम्मेवारी लिएअनुसार तोकिएको मापदण्ड पूरा नगर्ने समितिसहित संलग्न पदाधिकारीलाई कारबाहीको तयारी गरिएको हो । “आवश्यकताका आधारमा विनियोजित योजनाको समयमा काम गर्न चासो नदिने उपभोक्ता समितिका कारण विकास निर्माणको लक्ष्यअनुसारको प्रगति गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “योजनाको सम्झौता गर्न नआउनेदेखि जिम्मेवारी लिएर काम पूरा नगर्ने, गुणस्तरहीन काम गर्ने लगायतका समस्या छन्, कैफियतअनुसार कारबाही अघि बढाउन लागेका छौँ ।” डिभिजन कार्यालयमार्फत चालू आर्थिक वर्षमा एक सय २० योजना सञ्चालन गर्न लागिएको छ । उक्त योजनामध्ये हालसम्म ७७ योजनाको सम्झौता भएर २१ सम्पन्न भएका छन् । डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत सम्पादन गर्ने योजना रु पाँच लाखदेखि ५० लाखसम्मका छन् । “एउटा योजना पूरा गर्न दुई सातादेखि एक महिनाको समय पर्याप्त हुन्छ । योजना सम्झौतामा चासो नदिनेदेखि जिम्मेवारी लिएर ठेक्कामा लगाएर नाफा निकाल्ने, समयमा काम नगरी उपभोक्ताले पाउने विकासको अधिकार रोकिएका छन् । “निर्माण व्यवसायीलाई जस्तै लापरबाही गर्ने उपभोक्ता समितिलाई पनि कारबाही हुन्छ”, डिभिजन प्रमुख गुरागाइँले भन्नुभयो ।रासस