नेपाल चेम्बर अफ कमर्सले विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन सरकारसँग आग्रह गरेको छ । विप्रेषणको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादनमूलक क्षेत्रमा प्रभावकारी नीतिसहित युवाको लगानीलाई प्रोत्साहन गर्न चेम्बरले आग्रह गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले आज नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी औद्योगिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धन गर्न एवं विभिन्न आर्थिक विधेयकलाई अगाडि बढाउन आग्रह गरेको छ । अध्यक्ष मल्लले भन्नुभयो, “मुलुक विप्रेषणका भरमा चलेको छ । युवाले पठाएको पैसाको ठूलो हिस्सा उपभोगमै खर्च भएको छ । स्पष्ट नीति र कानून बनाएर उद्योगमा लगानीको वातावरण बनाउने हो भने निर्यात प्रवर्द्धन गर्न सकिन्छ ।” सो अवसरमा मन्त्री भण्डारीले औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । उद्योगको क्षमता विस्तार गरेर ५० लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी सरकारले योजना बनाइरहेको उहाँको भनाइ थियो ।रासस