राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने सङ्केत देखिएपछि सरोकारवाला चिन्तित भएका छन् । टीकापुरस्थित संवाद समूहले आयोजना गरेको छलफलमा सिँचाइ आयोजनाबाट लाभान्वित हुनेहरु यतिखेर चिन्तामा छन् । मूल कुलाका पदाधिकारी र रानी जमरा कुलरिया गरी तीन वटै नदी प्रणाली उपभोक्ता समितिका पदाधिकारी, पत्रकार र आयोजनाका डिभिजनल इन्जिनियर प्रेम लासिवा भएको छलफलमा उपभोक्ताका पदाधिकारीले भनेकै समयमा काम नसकिने र विश्व बैंकले लगानीमा हात झिके कृषक समस्यामा पर्ने चिन्ता गरिएको थियो । बैंकले काममा ढिलासुस्ती भएपछि एक वर्षपछि आयोजनामा खर्च नगर्ने कुरा मूल समितिलाई जानकारी गराएको जनाउँदै सरोकारवालाले निर्माण कम्पनी र कर्मचारीले काममा गती नबढाएको गुनासो गरे । सोह्र हजार किसान लाभान्वित हुने आयोजना काम पूरा नहुँदै जान्छ कि भनेर यस क्षेत्रका सामाजिक अगुवा, कृषकका अगुवाहरु चिन्तित छन् । “कुलरिया कुलामा काम गर्ने ठेकेदार भेटिँदैन, भेटिएपछि गर्छौं भन्छन्”, कुलरिया उपभोक्ता समितिका अध्यक्ष रविलाल चौधरीले भन्नुभयो, “आयोजनाले काम सुरु गरेको ११ वर्ष भयो तर कामको प्रगति ३० प्रतिशत भएको छ । जमरामा कामको प्रगती भएपनि कुलरियामा खासै काम भएको छैन, किसानले पटकपटक गाली गर्छन् ।” कतिपय निर्माण भएका संरचना पुनः बनाउनुपर्ने अवस्था भएको उहाँको भनाइ छ । “एक वर्षमात्र समय छ भन्छन् त्यतिमा हाम्रो कुलाको काम कुनै हालतमा सकिँदैन”, अध्यक्ष चौधरीले भन्नुभयो, “ढिला हुनुको कारण मूल कुलाको लापर्बाही पनि हो । मूल कुलाका पदाधिकारीले समयमै घच्घच्याएको पाइएन ।रासस
