स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले बाँकेमा फैलिएको दादुरा छिट्टै नै नियन्त्रणमा आउने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ गरेको भेटघाट कार्यक्रममा उहाँले दादुराको प्रकोप नियन्त्रण आउने प्रयासमा रहेको भन्दै एक महिनाभित्र दादुराको प्रकोप नियन्त्रणमा आउने बताउनुभयो । “बाँकेमा फैलिएको दादुराको अवस्थाबारे मैले हिजोमात्र बुझेर आएको छु, दादुरा विरुद्धको खोप कार्यक्रम त्यहाँ अहिले प्रभावकारी रूपमा अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “दादुरा नियन्त्रणमा आउने स्थिति रहेको छ । एक महिनामा नियन्त्रणमा आउने छ भन्ने हामीलाई विश्वास छ ।” उहाँले स्थानीय जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकालाई कुनै पनि घर नछुटाइकन बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन निर्देशन दिएको बताउनुभयो । मन्त्री गिरीले बाँके हुँदै अन्य ठाउँमा पनि दादुराको प्रकोप फैलिन थालेपछि चिन्ताको विषय भएको बताउनुभयो । मन्त्री गिरी गुणस्तरीय स्वास्थ्य सेवाका लागि देशैभरका अस्पतालको पूर्वाधारको बारेमा वैज्ञानिक अध्ययन गरी पूर्वाधार बनाइने बताउनुभयो ।