नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकार त्रिभुवन पौडेलका बाँकी सपना पूरा गर्ने दायित्व बाँचेकाहरूको काँधमा आएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले आज स्व पौडेलको पोखरा—११ स्थित निवासमा आयोजना गरेको श्रद्धाञ्जलि सभामा उहाँले छोटो समय बाँचे पनि पौडेलले पत्रकारिता र समाजले सदा सम्झने काम गरेको बताउनुभयो । उपाध्यक्ष महराले अकल्पनीय दुर्घटनामा पौडेलको निधनको खबरले आफूलाई धेरै दुःखित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिभुवनले मेरो प्रेस सल्लाहाकार भएर काम गर्नुभयो । अहिले पनि काठमाडौँ जाँदा सधँै घरमा आउनुहुुन्थ्यो । छोराहरू, बुहारी सबैसँग राम्रो सम्बन्ध थियो, हामी एकै परिवारको सदस्य जस्ता भएका थियौँ । पत्रकारिता, राजनीतिक क्षेत्रलगायत विषयमा कुराकानी हुन्थ्यो । म आज नै घटनास्थलमा पुगेर आएँ । घटनाबाट म स्तब्ध छु ।” उपाध्यक्ष महराले पौडेलका परिवारका लागि पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने र आफू सधँै साथमा रहने बताउँदै यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्ने बताउनुभयो । शोकसभामा माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ, माओवादी केन्द्रका नेता झलकपाणि तिवारी, कास्की जिल्लाका इन्चार्ज राजकाजी गुरुङलगायतले स्व पौडेलको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।रासस