झापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा नौ किलोमिटर गरी १५ किलोमिटर विद्युतीय तारबारको काम भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोसी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिनुभयो । त्यसमध्ये चारआली वन क्षेत्रको छ किलोमिटर विद्युतीय तारबारको काम सकिएको छ । दुवै वन क्षेत्रमा आगामी चैतसम्म काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रू दुई करोड ३५ लाख १५ हजारको लागतमा दुई वनमा विद्युतीय तारबारको काम भइरहेको हो । नेपाल सरकारको लगानीमा प्रकृति संरक्षण कोषमार्फत काम भइरहेको प्रमुख गौतमले बताउनुभयो । यहाँ जडान गरिएको ‘अफसेट’ सोलार प्यानलको विद्युतीय तारबार हूलमा आउने हात्ती नियणन्त्रका लागि प्रभावकारी हुने उहाँको भनाइ छ । “हात्तीको मनोविज्ञानलाई अध्ययन गरी यो प्रविधि निर्माण गरिएको छ, बाहुनडाँगीमा जडान गरिएको यही प्रविधि हो”, उहाँले भन्नुभयो, “त्यहाँ ६÷७ वर्ष राम्रो काम ग¥यो, हूलमा आउने हात्ती नियन्त्रणका लागि झापामा यो सफल मोडल मानिन्छ ।” अन्यको तुलनामा यो विद्युतीय तारबारभन्दा केही महँगो रहेको छ ।रासस