भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । सङ्ख्यात्मक रुपमा पुनः निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम सकेर हस्तान्तरण हुन बाँकी रहेको अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । हाल पुनः निर्माणको काम भइरहेका सम्पदाहरु आगामी डेढ वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ । दरबार क्षेत्रमा रहेका ९५ सम्पदामध्ये भूकम्पमा ७५ वटा सम्पदामा क्षति पुगेको थियो । हनुमान ढोकाको दक्षिणतर्फ रहेको ऐतिहासिक नौ तले दरबार र उक्त दरबारसँगै रहेका वसन्तपुर टावर, ललितपुर टावर, कीर्तिपुर टावर र भक्तपुर टावर चीन सरकारले पुनःनिर्माण गरिसकेको छ भने हस्तान्तरण हुन बाँकी छ । साथै काष्ठमण्डप, नाटेश्वर, पञ्चमुखी हनुमान, तारिणीदेवी मन्दिर, महादेव मन्दिर पहिलो र दोस्रो, लक्ष्मीनारायण मन्दिर, कागेश्वरी मन्दिर नागरा वंशगोपाल, श्वेत भैरव, सिल्यान सत्तल, गद्धी बैठक, ढुकुटी चोक, तलेजु मन्दिर नजिकैको सानो मन्दिर, तलाजु टेराकोटा तोरण, प्रताप मल्लको सालिक, कणेल चोकको पुनः निर्माण पनि सकिएको छ । ऐतिहासिक गद्दी बैठक अमेरिकी सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भइ सर्वसाधारणका लागि खुला गरिएको छ ।रासस