प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “आजदेखि सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई÷तावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सु–स्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रमुख सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उहाँले यहाँ एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताउनुभयो । नेपालमा बसोबास गर्ने सबै जातजातिको आ—आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति रहेको र यी सबै संस्कृतिको समग्रता तथा एकीकृतस्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । “हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले त्यसलाई राष्ट्रिय सम्पत्तिको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो ।रासस