रुकुम पूर्वमा खाद्यको चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका अनुसार जिल्लामा चामलको माग बढेको हो । यो भन्दा पहिला जिल्लामा खाद्यको शाखा कार्यालय थिएन । चामलको माग बढेपछि जिल्लामा शाखा नै स्थापना गरेर चामल बिक्री सुरु गरिएको छ । जिल्लामा असोजदेखि खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा रुकुमकोटमा स्थापना भएको छ । योभन्दा पहिला शोभा डिपो र तकसेरा डिपोबाट चामल बिक्री हुँदै आएको थियो । यो आवमा जिल्लामै शाखा स्थापना हुँदा सहज भएको शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । शाखाबाट असोजदेखि हालसम्म साढे ११ सय क्विन्टल चामल बिक्री भएको छ । रुकुमकोट शाखाबाट मात्रै यति धेरै मात्रामा चामल बिक्री भएको शाखा प्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार तकसेरा डिपोबाट पनि चामल बिक्री भइरहेको छ । जिल्लामा धान कम फल्ने गर्छ । सिस्ने गाउँपालिकाबाहेक अन्य दुई पालिकामा भने कमै मात्रामा धान खेती हुने भएकाले पनि खाद्यको चामल धेरै बिक्री हुने गरेको शाखा प्रमुख खड्काको भनाइ छ । असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म शाखाबाट सस्तोमा चामल बिक्री वितरण पनि भएको थियो । उक्त समयमा एक क्विन्टलमा रु सात सय छुटमा चामल बिक्री गरिएको शाखा प्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा मात्रै सात सय क्विन्टल चामल बिक्री भएको थियो ।रासस