जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ १८औँ शताब्दीको मन्दिर थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय प्रचार–प्रसार अभावमा ओझेलमा परेको स्थानीयवासीले गुनासो गरेका छन् । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानी, वडा नं ७ को जैदी र वडा नं ४ सर्कुवाको सीमा क्षेत्रमा अवस्थित रहेको थन्थापमाई मन्दिर बागलुङकै ऐतिहासिक धरोहरमध्येको एक भए पनि उचित संरक्षण र प्रचार–प्रसार अभावमा ओझेलमा परेको छ । जङ्गलको बीचमा रहेको मन्दिरमा रहेका महत्वपूर्ण घण्ट तथा कलात्मक बस्तुसमेत हराइसकेको स्थानीयवासीको भनाइ छ । जैमिनी–१० राङ्खानी पाहीका टीकाराम शर्मा आचार्यका अनुसार २०–२५ वर्षअघि यहाँको घण्ट, मन्दिर तथा विभिन्न आकृतिका धातु चोरी भएपछि स्थानीयवासीकै पहलमा काँडेतार लगाएर सुरक्षित गरिएको छ । “मन्दिरको गुठीको नाममा रहेको थुप्रै खेत छ, त्यसको कुनै खबर छैन, द्वन्द्वकालदेखि कसले कमाएको छ अत्तोपत्तो छैन, कति जग्गा मासिएको होला, मैले सुनेअनुसार यहाँको घण्टसमेत चोरी भएको थियो”, उहाँले भन्नुभयो, “पहिला संरक्षण भएको थिएन, अहिले केही मर्मतसम्भारसमेत भएको छ, जैमिनी नगरपालिकाले समेत रु २० लाख लागनी गरिसकेको छ, चुहिने छानो अहिले तामाले छाइएको छ तर समस्या भक्तालु घटेका छन्, हामीलाई प्रचार–प्रसारको खाँचो छ ।” जङ्गलभित्र मन्दिर भएका कारण शान्त वातावरणम छ भने हरियाली डाँडा धार्मिक पर्यटकीय गन्तव्य बन्ने भए पनि पछिल्लो समय मन्दिरको चर्चा सेलाउँदै गएको स्थानीयवासीको भनाइ छ ।रासस