अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्कनुभएको छ गुल्मीको रेसुङ्गा नगरपालिका–८ की शारदा भुसाल । उहाँ विसं २०६३ देखि न्यूमैत्री डेरी उद्योग सञ्चालन गरेर उदाहरणीय बन्नुभएको छ । उहाँ आफैँले सुरु गरेको डेरी उद्योगबाट अहिले दूध खरिद, प्रशोधन र बिक्री हुने गर्छ । उहाँले दैनिक तीन सय लिटर दूध बजारमा पु¥याउनुहुन्छ । गुल्मीको चौरासी र अर्घाखाँचीको ढिकुरा, काउलेलगायतका स्थानबाट डेरीमा दूध आउने गर्दछ । शारदाले भैँसीको दूधमात्र खरिद, प्रशोधन र बिक्री गर्नुहुन्छ । बजारमा आवश्यक पर्ने दूध पर्याप्त मात्रामा आफूसँग उपलब्ध नभएको उहाँले बताउनुभयो । गुणस्तरका आधारमा किसानसँग बढीमा प्रतिलिटर रु ९५ सम्म डेरी उद्योगले दिन्छ । यसलाई लिएर प्रशोधन गरेर प्रतिलिटर रु एक सय १० मा बिक्री हुन्छ । दूधबाट अन्य परिकार पनि बनाउन गरेको शारदाले बताउनुभयो । दूधबाट दही, पनिर, कुराउनी, छुर्पी र अन्य परिकार शारदा आफैँले बनाउने गर्नुहुन्छ । डेरीबाट मासिक रु नौदेखि १० लाखसम्म कारोबार गर्ने उहाँले मासिक रु एक लाख बचत गर्ने गरेको बताउनुहुन्छ । “जन्मपूर्वदेखि मृत्युपश्चात पनि दूध नै चाहिन्छ”, उहाँले भन्नुभयो, “महिलाले आफैँ व्यवसाय गर्नुपर्छ भनेर निरन्तर मेहेनत गरेँ ।” व्यापार र व्यवसायको सन्दर्भमा पनि पुरुषमात्र अगाडि सर्ने र महिला अरुकै भर पर्ने बाध्यताको अन्त्यका लागि अगाडि बढेको शारदाले बताउनुभयो ।रासस