बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्नुहुन्छ । “आँगनमा धारा भए पनि पानी आउँदैन”, उहाँले भन्नुभयो, “टोलको सार्वजनिक धारामा पानी आउँदा पालो लगाएर पाइपबाट ल्याएको पानी ड्रम, गाग्री र ग्यालिनमा सँगालेर उपभोग गर्छौँ ।” कल्पनाजस्तै उपल्लाचौर र सालघारी टोलका धेरैजसो घरमा निजी धारा बनेको करिब एक वर्ष पुगे पनि पानी आपूर्ति भएको छैन । कालीगण्डकीको पानी तानेर घर–घरमा खानेपानी सुविधा पु¥याउने उद्देश्यले सुरु भएको रत्नेचौर लिफ्ट खानेपानी आयोजना निर्माणले गति लिन नसक्दा उपभोक्ताको दुःख नहटेको हो । रत्नेचौरमा विस २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुनसकेको छैन । आयोजना निर्माणमा भएको ढिलाइले घर–घरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निरास बनेका स्थानीय कृष्ण बोगटीले बताउनुभयो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सञ्चालित करिब रु सात करोडको खानेपानी आयोजनाले ठेक्का सम्झौता भएको ३१ महिनासम्म पनि पूर्णता पाएको छैन । बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले सम्बद्ध कार्यालय र निर्माण व्यवसायीको समझदारी नमिल्दा खानेपानी आयोजना निर्माणले निरन्तरता पाउन नसकेको बताउनुभयो ।रासस