भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका ६३ वर्षीय परदेशी दमाईं नेपाल–भारत सीमाको दशगजा क्षेत्र नजिकै बस्दै आउनुभएको छ । उहाँलाई थातथलो डडेल्धुराको अजयमेरु गाउँपालिबाट चौपायासहित लिएर आएको ३५ वर्ष नाघेको छ । सहज जीवनयापनको खोजीमा उहाँ तराई झर्नुभएको हो । श्रीमती, छोरी र ज्वाइँसँग दमाइँ बस्दै आउनुभएको छ । परम्परागत पेसा सिलाइ–कटाइ भए पनि सीप सिक्न नसक्दा उहाँले मजदुरी गरेर परिवारको खर्च चलाउँदै आउनुभएको छ । “पहाडमा आफ्नो भन्ने सम्पत्ति थिएन”, उहाँले भन्नुभयो, “जीविका चलाउनै धौधौ हुन थालेपछि तराई झरेको हुँ, पहिला तराईमा आएर ठाउँ हेरे त्यसपछि बसाइँ सारे ।” उमेर छँदा नजिकको वन क्षेत्र र महाकाली नदीले बगाएर ल्याउने दाउरा सङ्कलन गरी भारतीय बजार टनकपुर पुगेर बेच्ने गरेको उहाँले बताउनुभयो । “दाउराको भारी पिठ्यूँमा बोकेर भारतीय बजारमा बेच्दा साँझ–बिहानको छाक टार्दै आएको थिए”, उहाँले भन्नुभयो, “दाउरा सङ्कलन नगरेका बेला मजदुरी गर्थे, अहिले उमेर ढल्किँदै जाँदा दाउरा बोक्न सक्दैन, मजदुरी गर्न सकिने अवस्था छैन ।” उहाँका छोरीज्वाइँले भारतीय बजारमा मजदुरी गरी कमाएर ल्याएको पैसाबाट उहाँको परिवारको खर्च धानिँदै आएको छ । मुक्तहलिया पुनस्र्थापन कार्यक्रमअन्तर्गत दमार्इंले सरकारीतर्फबाट घर पाउनुभएको छ । उहाँले घरको छानो भने बनाउन पाउनुभएको छैन । भारतीय सुरक्षाकर्मीले छानोमा जस्तापाता राख्न नदिएपछि प्लास्टिकको त्रिपाल राखेको उहाँ बताउनुहुन्छ ।रासस