नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वैचारिक दृष्टिकोणले देशको मुख्य राजनीतिक शक्ति भएको बताउनुभएको छ । सम्पर्क मञ्चद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित समसामयिक राजनीतिक विषयक प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले देशमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको रूपान्तरणमा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । मुलुकको वर्तमान राजनीतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको उहाँले प्रष्ट पार्नुभयो । पार्टीलाई क्रान्तिकारी भावनामा बढाएर नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणमा लाग्ने क्रियाशील भई पार्टीलाई समाजको आशावादी पार्टी बनाउन आफूहरु लागेको उहाँको भनाइ थियो । पार्टी निर्माणका लागि दृढ सपना र लक्ष्य बोक्न कार्यकर्तालाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “सपनाको लागि प्रयासरहित निद्रा चाहिन्छ, तर लक्ष्यका लागि निद्रारहित प्रयत्नको आवश्यकता पर्दछ ।” अध्यक्ष नेपालले विपरीत राजनीतिक मान्यता बोकेका दलहरूप्रति सत्ता स्वार्थका लागि गरिने गठबन्धनले देश र जनताको समस्या समाधान गर्न नसक्ने बताउँदै राजनीतिमा देशभक्ति, जनताप्रति सेवाको भावना, इमान्दारिता, त्यागको निष्ठा र समर्पणको खाँचो औँल्याउनुभयो ।रासस