माघे औँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन् । माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ । भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान गर्न र पूजापाठ गर्न आएका हुन् । विगत वर्षमा कोरोना महामारीले लाग्न नसकेको मेलामा यस वर्ष भने घुइँचो लागेको छ । शुक्रबारदेखिनै आएका भक्तजन त्रिवेणी धाममा दर्जनौँ मठमन्दिरमा रातभर भजनकीर्तन गरेर रात कटाएका छन् । त्रिवेणी धाम क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन गरेको तथा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको मेलामा शनिबार बिहानैदेखि पूजापाठ र भजनकीर्तन गर्नेको घुइँचो लागेको हो । त्रिवेणी धामदेखि दुई किलोमिटर दक्षिण पश्चिमका सडकका किनारमा मिठाई पसल, होटल र खाद्यान्न सामग्री बिक्री गर्ने त्रिपाल टाँगेर बसेका छन् । मेलाका कारण त्रिवेणी बजार र यस आसपासका पाँच दर्जनभन्दा बढी होटल भरिभराउ छन् । नारायणी नदीका घाट स्नानका लागि व्यवस्थित गरिएको छ । नारायणी नदीमा डुङ्गा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को देखिएको छ । मेलाको भीडभाडमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको सङ्ख्या पनि बढाइएको छ भने उद्धारका लागि सशस्त्र प्रहरीको उद्धार टोली पनि खटिएको छ । माघे औँसीमा त्रिवेणी धाममा स्नान गर्न देवतासमेत आउने जनविश्वास रहेकाले औँसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहेको त्रिवेणी धामस्थित गजेन्द्रमोक्ष दिव्यधाका स्वामी कृष्ण प्रपन्नाचार्यले बताउनुभयो ।रासस
