चितवनको खैरहनी नगरपालिका–१० स्थित एकीकृत मुसहर बस्तीका बासिन्दा हालसम्म नागरिकताबाट वञ्चित छन् । उनीहरुसित मतदाता परिचय पत्र त छ तर नागरिकता भने छैन । खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौदेखि नागरिकताविहिन छन् । उनीहरुको अघिल्लो पुस्ता पनि नागरिकताबाट वञ्चित थियो । बाइस वर्षीय अनिल माझिले कक्षा ६ सम्म अध्ययन गरिसकेपछि जन्मदर्ता नभएका कारण अध्ययनलाई निरन्तरता दिन सक्नु भएन । वर्षौदेखि आफ्ना पूर्खा यहीँ बसेका भए पनि अहिलेसम्म नागरिकता नपाउँदा विभिन्न समस्या झेल्नु परेको उहाँ बताउनुहुन्छ । “नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता गरेर शिक्षा दिन पाएका छैनौँ,” माझीले भन्नुभयो । नागरिकता नहुँदा दैनिक मजदूरी गरेर कमाएको पैसासमेत बचत गर्न नपाएको उहाँको गुनासो छ । यस्तै गुनासो सुनाउनुहुन्छ, ५५ वर्षीया एमपी माझी । “लामो समयदेखि नागरिकता पाउन सकेका छैनौँ ।” उहाँले पटक–पटक वडा कार्यालयमा गएर नागरिकता माग्दा ‘तिमीहरुलाई किन चाहियो नागरिकता’ उल्टै प्रश्न गर्ने गरेको दुःखेसो पोख्नुभयो । नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता गर्न नपाएको उल्लेख गर्दै माझी छोराछोरीलाई पढाएर रोजगारीका लागि विदेश पठाउने सपना चक्नाचुर भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नागरिकता बनाउन पाए छोराछोरी कतै काम गर्न जान पाउँथे । कमाएको पैसा बचत गर्न सकिन्थ्यो ।” नागरिकता नहुँदा आफुहरु ठगिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “हामीले एक व्यक्तिको नाममा विश्वास गरेर सामुहिक बचत पनि गरेका थियौँ तर उसले हाम्रो पैसा लिएर फरार भयो ।रासस