सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यले सुरु पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुन सकेको छैन । परियोजनाको २०७६ भदौ १२ गते २०७९ पुसभित्र सक्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा २०७९ सालभित्र सो आयोजनाको काम सक्ने उल्लेख थियो । भौतिक निर्माण तीव्ररुपमा अघि बढेको भनेपनि सामग्री अभाव तथा विविध कारण समयमै आयोजना सम्पन्न नभएको जनाइएको छ । निर्माण कम्पनीले खानेपानी वितरणको डिआइ नामक ठूला पोलिथिन पाइप अभावको कारण देखाउँदै आएका कारण निर्धारित समयमा आयोजना सम्पन्न नहुने देखिएको छ । गत साउनदेखि भारतमा बुकिङ गरिएको पाइप नआएको कारण देखाइएको हो । केही स्थानमा पाइप बिच्छ्याउने तथा धारा वितरणका क्रममा विवाद भएकाले आयोजना सक्ने समय लम्बिने देखिएको हो । निर्धारित समयमा आयोजना सम्पन्न नहुने भएको उपभोक्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले बताउनुभयो । उहाँले निर्माण कप्पनीले विविध कारण देखाउँदै थप एक वर्ष समय मागेको छ । भौतिक संरचना निर्माणको काम ७८ प्रतिशत सम्पन्न भएको छ ।रासस