बागलुङका ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएको धेरै समय भएको छैन । अझै केही ठाउँमा सडक पुगेका छैनन् । सडक पुगेका गाउँका स्थानीय अहिले घर अगाडि नै गाडी कुद्दा दङ्ग छन् । सडक विस्तार भएपछि अहिले उनीहरुको जीवनस्तर बदलिएको छ । सदरमुकामसँग सिमाना जोडिएका गाउँमा एक दशक अगाडिनै मोटरबाटो पुगेपनि दूर्गम गाउँमा भने स्थानीय सरकार आएपछि मात्रै सडक सञ्जाल र यातायातको सुविधा विस्तार भएको हो । जिल्लाको तमान खोला गाउँपालिका–४ का हर्कबहादुर छन्त्याल अहिले ७९ वर्षीय पुग्नुभयो । अहिले उहाँको घरै अगाडि दैनिक गाडी गुड्छन् । आफ्नै आँखा अगाडि आएको परिवर्तन छन्त्याललाई कथा जस्तै लाग्छ । उहाँले आफ्नो जीवनमा भोगेका कैयन वास्तविकता सुनाउँदा साँच्चिनै मुलुकमा धेरै परिवर्तन भएको बताउनुहुन्छ । २०१८ सालदेखि बुटवलबाट खाद्यान्न तथा नून बोकेर उपभोग गर्दै आउनुभएका छन्त्याल अहिले आफ्नै घर नजिक सामान पाउँदा दङ्ग हुनुहुन्छ । छन्त्यालले उति बेला स्वास्थ्य उपचार समयमै नपाउँदा धेरैले ज्यान गुमाउनुपरेको भन्दै अहिले गाउँ–गाउँमा स्वास्थ्य उपचार हुने हुँदा खुसी व्यक्त गर्नुभयो । अनेकौँ उतारचढाव पार गर्दै अहिलेसम्म आउँदा आफूले सोँच्दै नसोचेको विकास भएको उहाँको भनाइ छ ।रासस