विसं २०७९ को ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ पत्रकार नवराज चालिसे र ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ माधव पौडेललाई प्रदान गरिएको छ । न्यूज २४ का कार्यक्रम संयोजकका रुपमा चालिसे कार्यरत हुनुहुन्छ भने पौडेल नेपाल फेसको सम्पादक हुनुहुन्छ । सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा समाजद्वारा स्थापना गरिएका ती पुरस्कारको राशि क्रमशः रु २५ हजार एक र रु १५ हजार एक रहेका छन् । यसैगरी वरिष्ठ पत्रकार नीर शाह, खिलध्वज थापा, बुँद राना र विमला तुम्खेवालाई ‘सम्पादक समाज सम्मान, २०७९’ प्रदान गरियो । समाजका संस्थापक अध्यक्ष वियोगीको स्मृति दिवसका अवसरमा नुवाकोट शिवपुरी–७, गोविन्द वियागी मार्ग, सूर्यचौरस्थित आफ्नै भवनमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वमन्त्री अमृतकुमार बोहरा, बागमती प्रदेश, नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा, समाजका अध्यक्ष पुरु रिसाल र महासचिव श्यामकाजी डोटेलले ती पुरस्कार र सम्मान प्रदान गर्नुभयो । सो अवसरमा समाजका संरक्षक किरण वैद्यले स्वतन्त्र प्रेसका लागि वरिष्ठ पत्रकार गोविन्द वियोगीले अतुलनीय योेगदान गर्नुभएको बताउनुभयो । पूर्वप्रधानमन्त्री डा भट्टराईले लोकतन्त्र बलियो बनाउन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउन नहुने उल्लेख गर्नुभयो । समाजका महासचिव डोटेलले पत्रकारिताको प्रशिक्षण तथा तालिम सञ्चालनका लागि गोविन्द वियोगी स्मृति भवन तयार गरिएको जानकारी दिनुभयो ।रासस