गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्ने बताउनुभएको छ । बेनीमा आज सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमिकता दिएको बताउनुभयो । “चीनको सिमाना कोरला र भारतको सिमाना त्रिवेणी नाकालाई सडक सञ्जालले जोडेर दुवै देशसँगको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध विस्तारमा हाम्रो प्राथमिकता रहेको छ”, उहाँले भन्नुभयो, “कालीगण्डकी करिडोर सडक गण्डकी प्रदेशको लाइफ लाइन हो । यहाँको उत्पादन र खनिजजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारका लागि दुवै नाका सञ्चालनमा हाम्रो जोड रहन्छ ।” प्रकृृति र संस्कृतिसँग सम्बन्ध कायम गरेर आर्थिक गतिविधिलाई अघि बढाउन मेला महोत्सव सहयोगी हुने बताउँदै मुख्यमन्त्री अधिकारीले धैर्य र साहसतापूर्वक असहज अवस्थाको सामना गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । “उद्योगी व्यवसायीलाई अहिले गाह्रो परेको सरकारले महसुस गरेको छ”, अधिकारीले भन्नुभयो, “धैर्य गर्नुहोस्, उद्योग व्यवसाय बन्द नगर्नुहोस् । सरकार साथमा छ । साहस बटुलेर परिस्थितिको सामना गर्नुहोस् ।” सङ्घीय संसद्ले आवश्यक छिटो ऐन, कानुन बनाएर प्रदेश र स्थानीय तहलाई काम गर्न सहज हुने वातावरण बनाइदिने मुख्यमन्त्री अधिकारीले अपेक्षा गर्नुभयो । उत्पादन वृद्धि र आत्मनिर्भरतामा सरकारको जोड रहेको बताउँदै उहाँले म्याग्दीमा बन्द रहेका स्लेट, तामा र खरिढुङ्गा खानी सञ्चालनका लागि आवश्यक ऐन, कानुन बनाउने प्रतिबद्धता जनाउनुभयो ।रासस