कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बन्नुभएको छ । झापाको अर्जुनधारा–११ सालबाडी निवासी उहाँको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन् । जीवनका ५२ वर्षे उकाली–ओराली बिताइसक्नुभएको उहाँलाई आज प्रतिनिधिसभाको बैठकले उपसभामुख पदमा निर्वाचित ग¥यो । अब उहाँ कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभएको छ । बुवा स्व प्रताप रानामगर र आमा स्व मनमाया रानामगरको कान्छी सुपुत्रीका रूपमा विसं २०२७ मा झापाको अर्जुनधारामा जन्मनुभएकी उहाँले २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाडौँमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थाल्नुभएको थियो । उहाँलाई यसका लागि प्रसिद्ध साहित्यकार पारिजातले प्रेरणा दिनुभएको थियो ।रासस