कृषि विकास बैंक स्थापनाको ५६औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो । बैंकको ५६औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य बैंक बन्न सक्नुपर्ने धारणा राख्नुभयो । “पछिल्ला वर्षमा कृषि क्षेत्रमा लगानी घट्टै गएको र अरु व्यावसायिक क्षेत्रमा लगानी बढ्दै गएको छ । यो अवस्थामा क्रमशः सुधार हुँदै जाओस र कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकका रुपमा हामी देख्न पाऔंँ ।”, उहाँले भन्नुभयो । बैंकको आर्थिक सामथ्र्य र परिस्थिति हेरेर कर्मचारीको सेवा सुविधाको विषयमा बैंक व्यवस्थापनले उपयुक्त निर्णय लिनुपर्ने अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो । अहिले सरकार आफैले पनि खर्च कटौती गरेर मितव्ययी बन्न पहल गरिरहेको बेला बैंकले पनि आफ्नो वित्तीय स्वास्थ्यलाई ध्यानमा राख्नुपर्ने पौडेलको भनाइ छ । “मितव्ययिता, खर्च कटौती, सुविधा कटौतीका निमित्त सिङ्गो राष्ट्रलाई अपिल गर्नुपर्ने ठाउँमा म छु । हामीले कस्तो खर्च गरिरहेका छौँ र कति आम्दानी गर्ने सामथ्र्य हाम्रो छ भनेर हेर्न जरुरी छ । मुलुकको आर्थिक स्वास्थ्य राम्रो बनाउने सरकारको अभियानमा सबैको साथ चाहिएको छ । खर्च कटौती र मितव्ययितामा तपाईहरु पनि विशेष ध्यान दिनुहोला ।”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।रासस