जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत हिलेपानी–हलेसी सडक विस्तार गर्न विसं २०५५ मा खरिद गरिएको डोजर व्यवस्थापनमा चासो देखाएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी किनारमा कवाडीमा परिणत भएर अलपत्र अवस्थामा रहेको डोजर व्यवस्थापन गर्न जिससले चासो देखाएको हो । अलपत्र अवस्थामा रहेको डोजरको व्यवस्थापन गर्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई नेतृत्वको सर्वदलीय टोलीले निरीक्षण गरेको छ । नेपाली कांग्रेसका सुमानबाबु आचार्य, नेकपा (एमाले)का कुमार आचार्य, नेकपा (माओवादी केन्द्र)का दीपक पाण्डे ‘आकाश’, जनता समाजवादीका नवीन राई, जिल्ला समन्वय समिति सदस्य ज्ञानेन्द्र राई, नेपाल पत्रकार महासङ्घका अध्यक्ष दिलीप खत्रीलगायतको टोलीले बिहीबार दूधकोसी किनारमा मिल्काइएको डोजरको निरीक्षण गरेको हो । स्थलगत अध्ययन र अवलोकनका क्रममा थोत्रो भएर बेवारिसे अवस्थामा रहेको डोजर मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिने अवस्था नदेखिएको टोलीले प्रतिवेदन तयार पारेको छ । सर्वदलीय अनुगमन प्रतिवेदनमा डोजरको पाटपुर्जा मक्किएको तथा खिया लागेकाले पुनः प्रयोग गर्न नसकिने प्रकृतिको देखिएको, वर्षा समयमा डोजर रहेको ठाउँसम्म नदीको पानी आउने गरेकाले कुनै पनि समयमा डोजरलाई पुर्ने वा बगाउने सम्भावना भएको, डोजरको सिसा तथा प्लाष्टिकजन्य पार्टपुर्जा सबै टुटफुट भई डोजरको आकृतिमा परिवर्तन भएकोलगायतका बुँदा उल्लेख छ ।रासस