नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा स्वस्थ र नीतिगत बहसलाई उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिने बताउनुभएको छ । सभामुखमा निर्वाचित भएपछि पहिलो पटक संसद्लाई सम्बोधन र सांसदलाई स्वागत गर्दै उहाँले संसद्मा राजनीतिक दलहरुका बीचमा दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु यसको आधारभूत चरित्र भएको उल्लेख गर्नुभयो । “संसद् प्रतिस्पर्धाको थलो पनि हो, संसद्मा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जीवन्तता हो”, उहाँले भन्नुभयो, “संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनतासमक्ष पुगेको हुन्छ भने प्रतिपक्षी दल सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषबारे सत्तापक्षलाई सचेत र खबरदारी गर्ने गर्दछन् ।” सभामुख घिमिरेले प्रतिनिधिसभा सञ्चालनका लागि संविधान र प्रचलित कानुन एवम् प्रतिनिधिसभा नियमावलीले गरेका मार्गदर्शन नै सभा सञ्चालनका प्रमुख आधार रहने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकका रुपमा आत्मसात् गर्नु मेरो प्राथमिक दायित्व हो ।रासस