पोखरा सभागृहचोकदेखि बिपीचोकसम्मको दूरी एक हजार पाँच सय मिटर छ । तुलनात्मक रुपमा पोखराको अन्य सडक भन्दा फराकिलो छ यहाँको सडकखण्ड । पोखराको व्यस्त सडकमध्येमा एक हो यो सडक । सोही कारण सवारीको चाप बढी हुनुका साथै यात्रुको ओहोरदोहोर पनि धेरै हुन्छ । चाक्लो सडकमा चालकले सवारी नियम, तथा लेनको ख्याल नै नगरी ‘ओभरटेक’ र सवारी ‘क्रस’ गर्न भ्याउछन् । जसले गर्दा साना, ठूला सवारी दुर्घटना बढिरहेका छन् । सडकमा हुने यस्ता दुर्घटना न्यूनीकरण हुन नसकेपछि समस्या समाधानका लागि महानगरसम्म पुगेको थियो ट्राफिक प्रहरी । ट्राफिक प्रहरीको पहलमा पोखरा महानगरपालिकाले ‘ट्राफिक लाइट’ राख्ने योजना अघि बढाए अनुरुप ‘ट्राफिक लाइट’ का लागि पोलसँगै ‘डिभाइडर’ राख्ने काम सुरु भइसकेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । करिब तीन महिनामा सक्ने गरी सभागृहचोकदेखि बिपीचोकसम्म गार्डेनिङसहितको डिभाइरमा सडकबत्ती राख्ने काम सुरु गरेको जानकारी दिनुहुदै यसले सडक दुर्घटनामा पनि कमी आउने आचार्यले बताउनुभयो ।रासस