नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुआयमिक व्यक्ति स्व लक्ष्मीदास मानन्धरको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवं समाजसेवी स्व लक्ष्मीदास मानन्धरको जीवन पुस्तक ‘परिवर्तनका संवाहक लक्ष्मीदास’ को आज विमोचन गर्दै स्व मानन्धरको जीवन सबैका निम्ति प्रेरणाको स्रोत बन्ने बताउनुभयो । “हरेक व्यक्तिको जीवन फरक–फरक हुन्छ, कुन व्यक्तिले आफ्नो जीवनमा के राम्रो काम ग¥यो भन्ने कुरा जीवनी, आत्मवृत्तान्त, संस्करणबाट थाहा हुने भएकाले नयाँ पुस्तालाई समेत धेरै कुरा थाहा पाउन मद्दत पुग्छ”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पहलमा लक्ष्मीदासलाई राष्ट्रियसभाको सदस्य बनाएको स्मरण गर्नुभयो । लक्ष्मीदासको जीवन इतिहासको खुला पाना भएको उहाँको भनाइ थियो । इतिहासमा आफूले खेलेको भूमिका लिपिबद्ध गर्न सके त्यो लिपि जीवनभर बाँचिरहने नेता नेपालले बताउनुभयो । लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति त्रिरत्न मानन्धरले काठमाडौँको ठहिटीमा मध्यम परिवारमा जन्मनुभएका लक्ष्मीदासले आफ्नो बुद्धि, मेहेनत र परिश्रमले एउटा सम्पन्न परिवारको स्थापना गर्नुभएको तर्क गर्नुभयो । स्व लक्ष्मीदासले सामाजिक, धार्मिक, शैक्षिक र औधोगिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको उहाँको भनाइ छ ।रासस