तनहुँको आँबुखैरेनी गाउँपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई रू छ लाख ५० हजार बराबरको छात्रवृत्ति रकम वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्रका स्थायी ठेगाना भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुरायाउने उद्देश्यसहित गाउँपालिकाले २२ जनालाई छात्रवृत्ति प्रदान गरेको हो । गाउँपालिका छात्रवृत्ति वितरण कार्यविधि, २०७९ अनुसार गत मङ्सिर २९ गते प्रकाशित सूचनाबमोजिम निवेदन पेश गरेका विद्यार्थीलाई छात्रवृत्ति वितरण समितिको सिफारिस तथा गाउँ कार्यपालिकाको निर्णयबमोजिम छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । “विभिन्न तहमा अध्ययनरत विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित छात्रवृत्ति रकम वितरण गरेका हौँ, यसले गर्दा उहाँहरूको पढाइलाई टेवा पुग्ने विश्वास लिएका छौँ”, चुमानले भन्नुभयो । छात्रवृत्ति प्राप्त गर्नेमा उच्च माध्यमिक तहदेखि विद्यावारिधि तहसम्म अध्ययनरत विद्यार्थी छन् । छात्रवृत्ति पाउनेमा आँबुखैरेनी गाउँपालिका–३ का अमर ठकुरीले युनिभर्सिटी अफ साउथ डाकोटाबाट विद्यावारिधि गर्दै हुनुहुन्छ । गाउँपालिकालाई उहाँलाई रू एक लाख छात्रवृत्ति रकम वितरण गरेको छ । गाउँपालिकाले आँबुखैरेनीस्थित मित्रता माविमा अध्ययनरत सरन विक, रक्षा खनाल, सलिना विकलाई रू ५० हजारका दरले र सोही विद्यालयमा अध्ययनरत सुनिता नेपालीलाई रु १५ हजार वितरण गरेको छ ।रासस