समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिनुभएको छ, भगवती देवकोटा । रामपुर नगरपालिका– ६ स्थित कौवा बस्ने देवकोटाले आफ्नो खेतबारीमा दुःख गरेर लगाएको तरकारी खेतीबाट दुई चार पैसा कमाइ गर्छुभन्दा पनि समुदायबाटै अपहेलित हुनुप¥यो । हिजोआज भने सोही समुदायले उहाँको कृषिकर्मको खुलेरै प्रशंसा गरिरहेको सुनिन्छ । लामो समयसम्म यस व्यवसायमा रहनुभएकी देवकोटाले धेरै अनुभव सङ्गाल्नुभएको हुँदा छिमेकी पनि उहाँसँग कृषि प्रविधि र तरकारी खेतीबारे जानकारी लिन पुग्छन् । समाजमा शिक्षा र चेतनाको विकाससँगै विभिन्न निकायबाट कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम, एफएम रेडियो, टेलिभिजनलगायतका विभिन्न सञ्चार माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह हुन थालेपछि अहिले यस व्यवसायमा सबैका सामु देवकोटा उदाहरणीय किसान बन्नुभएको छ ।रासस