प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वार्चित गरियोस् भनी प्रस्ताव पेस गर्नुभयो । उक्त प्रस्तावलाई नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले समर्थन गर्नुभएको थियो । उक्त प्रस्ताव पेस गर्दै सांसद गौतमले उम्मेदवार रानामगर राजनीतिमा नयाँ भए पनि सामाजिक क्षेत्रमा आम नेपालीबीच परिचित अनुहार भएको बताउनुभयो । कारागारमा रहेका अभिभावकका बालबालिकाको अभिभावकत्व लिएर समाजमा उदाहरणीय कार्य गरेको उल्लेख गर्दै उहाँले रानामगरलाई उपसभामुखमा निर्वाचित गराएर गौरव गर्नुपर्ने धारणा राख्नुभयो । “अन्धकारमा जीवन बिताइरहेका कैयौँ नेपाली बालबालिकालाई नयाँ जीवन र नयाँ भविष्य दिएर नेपालको भविष्य नै उज्जवल बनाउनुहुने माननीय इन्दिरा रानामगर यस गरिमामय सदनको उपसभामुखको कुर्सीमा बस्नु भनेको, उहाँको योग्यताको कदर मात्र होइन । बरु उपसभामुखको कुर्सी नै सम्मानित हुनु हो”, उहाँले भन्नुभयो । उक्त प्रस्तावका समर्थक श्रेष्ठले समाजमा दिएको योगदानको प्रतिफलका आधारमा नै रानामगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाएको बताउनुभयो । उहाँको पृष्ठभूमि, वर्तमान अवस्था र भविष्यमा खेल्नसक्ने भूमिकालाई मध्यजनर गर्दै उपसभामुखमा सान्दार मतबाट निर्वाचित गराउन श्रेष्ठले आग्रह गर्नुभयो।रासस