राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी-ढोरपाटन सडकको बागलुङ खण्डमा ट्रयाक खुलेको नौ वर्ष बितिसक्यो । तर स्तरोन्नतिको काम भने हुनसकेको छैन । सडक स्तरोन्नतिका लागि सरकारले हरेक वर्ष करोडौँ रकम बजेट विनियोजन गरे पनि बागलुङ खण्डमा काम हुनसकेको छैन । सडकको धेरै स्थानमा साँघुरो हुँदा गाडी ओहोरदोहोर गर्न समस्या छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची हुँदै ढोरपाटन जोड्ने यो सडकले पहाडी जिल्लालाई तराईसँग जोडेको छ । तर सडकको दुरावस्था हुँदा बागलुङका नागरिक यो सडकमा सहजरूपमा बाह्रै महिना यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो हुँदा यात्रा गर्न समस्या भएको निसीखोला गाउँपालिका–७ का तिलक खत्रीले बताउनुभयो । उहाँले सडक निकै अप्ठ्यारो हुँदा वर्षौँ बित्दा पनि यातायातका साधान सहजरूपमा सञ्चालन हुन नसकेको बताउनुहुन्छ । “यो सडक खुलेको धेरै वर्ष भयो, अहिलेसम्म गाडीहरू सहजरुपमा चल्न पाएका छैनन्, कतै साँघुरो छ, कतै अप्ठ्यारो छ, यतिका वर्षसम्म काम नहुनु सरकारको कमजोरी हो कि, ठेकेदारको कमजोरी ?”, खत्रीले भन्नुभयो, “यस्तो सडकमा कसरी यात्रा गर्नु ?, ज्यान जोखिममा राखेर कोही पनि यात्रा गर्न मान्दैनन्, साँघुरो सडकमा गाडी पनि कसरी गुडोस् र ?” हिउँदमा साना गाडी जसोतसो चल्ने गरे पनि बर्खाको समयमा ठप्प हुने गरेको उहाँको भनाइ छ । खत्रीले साँघुरो सडक हुँदा बेला–बेलामा दुर्घटनासमेत हुने गरेको भन्दै यसतर्फ सरोकारवालाको ध्यान नपुगेको गुनासो पोख्नुभयो । घर अगाडि सडक भए पनि आफूहरूलाई पैदलयात्रा गर्नुपर्ने र सामान बोकेरै ढुवानी गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।रासस
