शिक्षाविद्, सरोकारवाला तथा अभियानकर्मीले मुलुकमा सञ्चालित आजीवन सिकाइ र साक्षरता कार्यक्रमबारे पुनः व्याख्या गर्नुपर्ने सुझाव दिएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल र ग्लोबल एक्सन नेपालले आज यहाँ आयोजना गरेको छलफलमा उहाँहरुले युवालाई साक्षरता कार्यक्रमले नयाँ सीप विकास गर्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागीले युवामा आत्मविश्वास बढाउन, जीवनस्तर सुधार गर्दै साक्षरता दर बढाउन तथा रोजगारी वृद्धि गरी गरिबी न्यूनीकरण गर्न सिकाइले मद्दत पुर्याउनुपर्ने बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य नं ४ लगायत लक्ष्य नं ५, ८ र १० हासिल गर्न प्रौढ शिक्षा तथा सिकाइको भूमिका महत्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तर सिकाइ र साक्षारता कार्यक्रमसँग जोड्न सहभागीहरूले सुझाव दिनुभएको थियो । हाल नेपालमा पाँच वर्षमाथिको साक्षरता ७८ प्रतिशत छ भने १५ वर्षभन्दा माथि उमेर समूहमा साक्षरता ५८ प्रतिशत छ । सरकारले लामो समयदेखि साक्षर नेपाल कार्यक्रम सञ्चालन गर्दै आए पनि मधेस प्रदेशका आठसहित विभिन्न प्रदेशका १५ जिल्ला र एक सय ७५ स्थानीय तह अझै साक्षर घोषणा भएका छैनन् । कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले सिकाइ अनन्तकालसम्म चलिरहने प्रक्रिया भएकाले यसलाई निरन्तर र प्रभावकारीरूपमा सञ्चालन गर्न सबैको भूमिका आवश्यक भएकामा जोड दिनुभयो ।रासस