प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताउनुभएको छ । केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो केन्द्रको क्षमता विस्तार गर्ने बताउनुभएको छ । उक्त अवसरमा प्रधानमन्त्रीले आफ्नो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीले अगाडि भन्नुभयो, “डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गरेको थियो । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।” केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री दाहालले भन्नुभयो, “अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीमा ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ । मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु । यसलाई सम्बोधन गरिनेछ ।रासस