बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा एक सय ९१ बिरामी फेला परेका छन् भने नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा तीन जना र कोहलपुर नगरपालिकामा दुई जना फेला परेका हुन् । जिल्लामा अहिलेसम्म एक सय ५० निको भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ । ५८ घरमै उपचाररत छन् । नेपालगञ्जका ३१ हजार ४२ जना र खजुराका पाँच हजार नौ सय ७४ जना गरी ३७ हजार १६ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो । नरैनापुर गाउँपालिकामा दादुराका बिरामी भेटिएपछि बालबालिकालाई बिहीबारबाट दादुरा रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । दादुराको जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समूहका करिब चौध हजार २२ जना बालबालिकालाई खोप लगाइने नरैनापुर स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहले बताउनुभयो ।रासस