तीनवटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले समेत मजबुत बन्दै गएको छ । कर्णाली प्रदेशका दुईवटा ५० शय्याको अस्पतालमध्ये एक जाजरकोट अस्पताल पर्दछ । दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले विगत एक दशकदेखि गरेको पहलस्वरुप उक्त अस्पतालको मुहार बदलिन लागेको हो । जीर्ण तथा चुहिने १५ शय्याको अस्पतालबाट सेवा प्रवाह हुँदै आएको अस्पताल अहिले ५० शय्यामा विस्तार भएको छ । चार वटा अत्याधुनिक भवन विगत दुई वर्षअघिदेखि निर्माण सुरु गरिएकामा अबको दुई महिनाभित्र सबै काम पूरा गर्न निर्माण कम्पनी सक्रिय भएर लागेको छ । चिकित्सकको आवासदेखि सेवा प्रवाहका लागि भवन अभाव रहेको भन्दै समय, समयमा विवाद हुँदै आएको अस्पतालमा अब दरबन्दीअनुसारको स्वास्थ्यकर्मी परिचालन गरी सबै खालको सेवा दिनसके कर्णाली प्रदेशकै दोस्रो अस्पतालको रूपमा विकास हुने अपेक्षा गरिएको छ । रुकुम पश्चिम, जाजरकोट, डोल्पा र सल्यानको बीचमा रहेको यो अस्पताल सबैको भरोसा बटुल्न सेवा प्रवाहलाई प्रभावकारीे बनाउनु पर्छ। मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा र भेरी करिडोरको बीचमा रहेको रहेको यो अस्पताल बिरामीको चाप हुने मध्येमा पर्दछ ।

अक्सिजन प्लान्टदेखि शल्यक्रिया सेवासमेत प्रदान गर्दै आएको अस्पताल अझै सेवा प्रवाहमा अब्बल हुनसके सबैको भरोसा बटुल्ने कुरामा दुई मत नरहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा दिने र लिने दुवै सन्तुष्ट भएमा मात्र अस्पतालको भरोसा बढ्छ । संरचनाको विकास भएर मात्र हुँदैन । अब सेवा प्रवाहको पाटोसमेत मजबुत हुनुपर्छ । यसमा सबैको रचनात्मक सहयोग हुनुपर्छ ।” कर्णाली प्रदेश सरकारको मातहतमा रहेको यो अस्पताललाई सङ्घीय सरकारको मातहतमा राख्नुपर्ने मागसमेत उठ्दै आएको छ । तीन जिल्लाको बीचमा रहेका कारण सबै खालका सेवा प्रवाह गर्नुपर्ने भएकाले यसलाई सङ्घ सरकारमार्फत राखेर काम गर्नसके राम्रो हुनेमा सरोकारवालाको भनाइ थियो । अस्पताल जाने सडक, खानेपानी र विद्युत् सेवालाई भरपर्दो बनाउन सके यहाँ सेवा लिन आएका आमनागरिकलाई थप सन्तुष्ट बनाउन सकिने जुनिचाँदे–४ का रेशमबहादुर खड्काले बताउनुभयो । चौँसठ्ठी स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त अस्पतालमा अहिले सबै दरबन्दीमा स्वास्थ्यकर्मी कार्यरत नरहेको पाइएको छ । स्वास्थ्यकर्मी र कर्मचारीको सेवा, सुविधालाई व्यापक हेरफेर गरी काम गर्नसक्ने वातावरण निर्माण गर्नसमेत सुझाइएको छ । अस्पताल विकास समितिको नाममा भर्ती भएका अधिकांश कर्मचारी राजनीतिक दलको कार्यकर्ता बन्दा सेवा प्रवाहमा सधैँ अवरोध हुने गरेको अस्पताल प्रशासनले बताउँदै आएको छ । टे«ड युनियानको नाममा अस्पतालमा काम नगरी तलब, भत्ता बुझ्ने अवस्था अन्त्य गर्न नसकेको गुनासो पनि बढ्दै गएको छ । अहिले अस्पताल र स्वास्थ्य सेवा कार्यालय एकै ठाउँमा हुँदा काम गर्न मुस्किल हुँदै गएको बताइछ ।रासस