आन्तरिक तथा बाह्य दृष्टिकोणले प्रचुर पर्यटकीय सम्भावना बोकेको जिल्लाको बर्दघाट नगरपालिका–५ स्थित कञ्चनगढी नजिक प्राचीन चमेरे गुफा फेला परेको छ । नेपालका एक सय पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्य मध्येको एक महत्वपूर्ण स्थलका रुपमा रहेको कञ्चनगढी क्षेत्रभन्दा करिब डेढ किलोमिटर उत्तरमा प्राचीन चमेरे गुफा फेला परेको हो । विभिन्न प्रकृतिका आकृति देखिने पहरासँगै पानीको छहरामा रहेको उक्त चमेरे गुफा क्षेत्रलाई अब कञ्चनगढीकै अर्को महत्वपूर्ण स्थलका रुपमा विकास गरेर अघि बढ्ने बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । स्थानीय वडावासी विष्णु पोखरेलले त्यो स्थानमा पानीको छहरा र पहरासँगै पहरामा गुफासमेत रहेकाले त्यसको विशेषता अझ बढी हुनसक्ने भएकाले त्यसको खोज अनुसन्धान हुन जरुरी रहेका बताउनुभयो । नगरपालिकाले कञ्चनगढी क्षेत्रको विकासका लागि तयार गरेको रु १४ करोडको लागत अनुमानअनुसार पर्यटकीय पूर्वाधारका लागि पहिलो चरणमा रु चार करोड ५६ लाखको लागतमा भौतिक निर्माण कार्यलाई तीव्रता दिइरहेका बेला चमेरे गुफासमेत फेला परेपछि अब त्यस क्षेत्रलाई बृहत् विकास क्षेत्रअन्तर्गत रहेर विकासको काम गर्ने नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभयो ।रासस
