उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालक (सहचालक)को दुर्व्यवहार बढ्दो छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै एक सय ४८ दुर्व्यवहारका गुनासा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्व्यवहारमा परेको भनेर यात्रुबाट गुनासो आउने क्रम नरोकिएको बताउनुभयो । यात्रुका गुनासालाई सम्बोधन गर्न र व्यवहार सुधारका लागि सचेतना कार्यक्रम सुरु गरिएको उहाँले जानकारी गराउनुभयो । पुसमा गरिएको सचेतना कार्यक्रममा दुई हजार तीन सय २१ चालक तथा सहचालक सहभागी भएका र यो क्रम अहिले पनि जारी रहेको जनाइएको छ । प्रहरीले चालक तथा परिचालकको आचरण तथा व्यवहार सुधारका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र सार्वजनिक यातायात केन्द्रीय महासङ्घमा पत्राचारसमेत गरेको छ ।सार्वजनिक सवारी साधनमा यात्रुमाथि चालक–परिचालकबाट दुर्व्यवहार भएको भनी गुनासो बढेसँगै उक्त कार्यालयले सचेतना कार्यक्रमलाई पनि तीव्रता दिएको प्रवक्ता भट्टले जानकारी दिनुभयो । सार्वजनिक सवारी साधनमा सम्मानजनक यात्रा गर्न पाउनु यात्रुको नैसर्गिक अधिकार भएकाले सभ्य व्यवहार गरी यात्रा गर्न र गराउन चालक तथा परिचालकलाई प्रहरी उहाँले अनुरोध गर्दै आउनुुभएको छ । उक्त कार्यालयसहित काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा र यातायात व्यवसायी सङ्घसंस्थाका कार्यालयमा चालक तथा परिचालकका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।रासस