कालीकोटमा स्थानीय खाद्य बालीको माग उच्च हुँदा पनि उत्पादन भने घट्दै गएको छ । यहाँ आउने पर्यटकमा स्थानीय रातो मार्सीको चामल, चिनो, कागुनो, कोदोलगायत खाद्यान्नको माग उच्च रहे पनि उत्पादनमा भने जोड दिन नसक्दा घट्दै गएको हो । सिँचाइको असुविधा र कृषकको अभावका कारणले स्थानीय बालीको उत्पादन घट्दो अवस्थामा रहेको छ । यहाँ आउने पर्यटकको पहिलो रोजाइ स्थानीय बालीबाट उत्पादन भएका खानाका परिकार नै रहे पनि पछिल्लो समय उत्पादन घटदै गएकाले पर्यटकलाई स्थानीय खानाको माग पु¥याउन कठिन भएको मान्मस्थित होटेल हिलसाइटका सञ्चालक धर्मराज शाहीले बताउनुभयो । “कर्णालीमा घुम्न आउने अधिंकाश मानिसको रोजाइमा यहाँको स्थानीय उत्पादन नै पर्छ ।” उहाँले भन्नुभयो, “उत्पादनमा आएको ह्रासका कारण मागअनुसार धान्न सकिएको छैन ।” रातो मार्सी धान, चिनो, कागुनो, कोदोलगायत स्थानीयस्तरमा उत्पादन हुने बाली कमैले उत्पादन गर्न थालेका छन् । स्थानीय बाली खस्रो, नमिठो हुने तर बाहिरबाट आउने खाद्यवस्तु स्वादिलो र मसिनो हुने भएकाले पनि स्थानीय बाली उत्पादन गर्न छाडेको खाँडाचक्र नगरपालिका–८ का कालीबहादुर मल्लले बताउनुभयो । “यहाँका खाद्यान्न स्थानीयले नै रुचाउन छाडेँ ।” उहाँले भन्नुभयो, “बाहिरबाट आउने खाद्यान्न स्वादिलो र मिठो हुने भएकाले बाली लगाउन नै छाडेका हुन् ।”रासस